
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले बताइन् । “विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ”, उनले भनिन्, “म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।”
विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० श्यया क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।
जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र युएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदननै नपरेको प्रमुख डा थापाको भनाइ छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।
प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ ।
अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।