
१९औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ ।
उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने कम्पनीले जनाएको छ ।
'क्रिकेट कौसलको असाधारण प्रदर्शनमा नेपाली क्रिकेट स्टार कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानहरू तोडेका छन् । रोयल ब्लू उनीहरूको उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न पाउँदा गर्व छ।' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वभरका फ्यानहरूको मन जित्न सफल मल्ल र ऐरीले आफ्नो प्रतिभा देखाउँदै क्रिकेट संसारमा नयाँ मापदण्ड कायम गरेकोमा कम्पनीले खुशी व्यक्त गरेको छ ।
मङगोलियाविरुद्धको खेलमा मल्लले उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमान तोड्ने अर्धशतक बनाएको थिए ।
नेपालले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो । जसमा मल्लले सर्वाधिक १३७ रन बनाएका थिए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए ।
यस्तै, ऐरीले ८ छक्कासहित १० बलमा ५२ रन बनाएका थिए ।
रोयल ब्लूका ब्रान्ड हेड ऋतिक शाहीले कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेको असाधारण उपलब्धिप्रति खुशी व्यक्त गरेका छन् ।
उनीहरूको उल्लेखनीय प्रदर्शनले क्रिकेट उत्साहीहरूको एक पुस्तालाई समेत प्रेरित गरेको उनको भनाइ छ ।