
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्ने बताएकी छिन् ।
हिमालय मातृभूमि फाउन्डेसनद्वारा शुक्रवार आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान–२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताएकी हुन् ।
“वर्तमान सरकारको शासन शैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन”, उनले भनिन्, “सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।” धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, “यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।”
देशमा भ्रष्टाचारले जरो गाँडेको बताउँदै उनले त्यसको अन्त्यका लागि दबाब समूह जरुरी रहेको बताइन् । प्याब्सन कार्यसमिति अध्यक्ष डीके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औंल्याउँदै त्यसका लागि सबैको इमानदारपूर्वक काम गर्नुपर्ने बताइन् ।