३१ जेठ २०८३, आइतबार

खोटाङमा सुमो चालक मृत भेटिए, घटना शङ्कास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान

असोज ११, २०८०
खोटाङ
खोटाङमा सुमो चालक मृत भेटिए, घटना शङ्कास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान

खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालकको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । ​

यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौं ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक नवराज आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । 

आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिए । “आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ”, उनले भने, “आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।”​

बुधवार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए । 

“मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ”, उनले भने, “घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।”

दुई छोराका बुवा आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौंबाट घटनास्थल आउँदै गरेको जनाइएको छ । घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्