०८ साउन २०८३, शुक्रबार

एउटै कसुरमा पटक–पटक पक्राउ पर्छन् औषधि व्यवसायी झा, तर सधैं धरौटीमा रिहा

असोज ११, २०८०
विराटनगर
एउटै कसुरमा पटक–पटक पक्राउ पर्छन् औषधि व्यवसायी झा, तर सधैं धरौटीमा रिहा

औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले फार्मेसीबाट लागुऔषध बनाएर बेच्ने गरेको खुलेको छ ।

झाले उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ मा रहेको गोपीकृष्ण मेडिकल हल तथा औषधिको होलसेल पसलबाट औषधिको अनुचित प्रयोग गर्दै लागुऔषध प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो ।

गत भदौ २ गते इलाका प्रहरी कार्यालय बेलटारले उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ मा गोपीकृष्ण मेडिकल हल औषधिको होलसेल पसलमा छापा हानेर ठूलो परिमाणमा औषधि बरामद गरेको थियो ।

उनले लागुऔषध प्रयोगकर्तालाई अनुचितरूपमा औषधि बिक्री–वितरण गर्ने गरेको पाएपछि प्रहरीले छापा हानेर ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि दुई कार्टुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

औषधिसँगै प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएकाे थियाे । तर पक्राउ परेपछि उनी बिरामी परेका थिए ।

निको भएपछि बिहीवार पक्राउ गरी थप कारवाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागुऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो ।

झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागुऔषध प्रयोगकर्तालाई बिक्री–वितरण गरेका छन् ।

क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् ।

यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

पटक–पटक पक्राउ पर्दै आएका झालाई औषधि व्यवस्था विभाग विराटनगरले सामान्य धरौटी रकम लिएर छोड्ने गरेको छ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई बिहीवार ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेका छन् ।

औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ अनुसार वारदात भेटिए जिल्ला अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने उल्लेख छ ।

अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलसँग राय लिएर अदालतमा अभियोग दर्ता हुन्छ । त्यसपछि अदालतमा थुनछेक बहसपछि आदेश हुने गर्छ ।

औषधि ऐन २०३५ को दण्ड सजायका (३) उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

तर विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिएर मुद्दा पछि चलाउने भन्दै तारेखमा राखेर छोडेको पाइएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले औषधिको अनुचित प्रयोग गर्ने झालाई पछि मुद्दा पनि चलाउने बताए । ‘अहिले धरौटीमा तारेखमा राखेर छोडिएको हो,’ उनले भने, ‘हामीलाई व्यवहारिक कठिनाइ पनि रहेको छ ।’ पर्याप्त जनशक्ति र साधन स्रोत पनि नभएको कारणले केही समस्या आएको उनले बताए । 

‘हामीले कारवाही गर्नबाट जोगाएको भने होइन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्