
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरमा आज (शुक्रबार) साँझदेखि महागङ्गा आरती शुरू हुने भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए । प्रत्येक दिन गर्नेगरी महागङ्गा आरती शुरू गर्न लागिएको उनले बताए ।
महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन् । उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताए ।
उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती शुरू गरिने छ । छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लाग्ने गर्छ ।