
सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्।
चार किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी दीपक खड्काले जानकारी दिए।
सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले शुरूमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो।
उनीहरूको सूचनाको आधारमा चरिकोटस्थित शुभकामना होटलबाट नुर्बु र सुनमलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
बिहीबार राति दोलखाको बिगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो अवैध सुन बरामद गरेको थियो । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले जानकारी दिए।