
पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।
ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिनी प्रदेशमा मा गत भदौ २० गते उनी पक्षीय उम्मेदवार पराजित हुन पुगेका थिए । अध्यक्ष ओलीले हरि रिजाललाई सर्वसम्मत बनाउन दबाब दिए पनि अन्ततः उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले जित्न पुगेका थिए । ओली प्रत्यक्ष नदेखिए पनि पौडेलविरुद्ध महासचिव शंकर पोखरेलले रिजाललाई जिताउन गरेको अधिकत कदम खेर गएको थियो ।
लुम्बिनीलगत्तै असोस ८ र ९ गते बागमती प्रदेश अधिवेशनमा फेरि ओलीको निर्देशनविपरीत चुनावी प्रतिस्पर्धा भएको छ ।
‘७० वर्षको इतिहास भएको हाम्रो पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्,’ ओलीले चेतावनी दिँदै भनेका थिए, ‘नेतृत्वका लागि धेरैको योग्यता पुगेको छ । तर नेतृत्वमा पुग्ने नाममा प्यानलसहित निर्वाचन हुने अवस्था आयो भने उम्मेदवारी नै खारेजसम्म हुन सक्छ ।’ अध्यक्ष ओलीले प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी ८ असोजमा उद्घाटन गर्दा दिएका थिए । तर ४ दिन झुलाउँदासमेत चुनावबाट जानबाट ओलीले एमालेलाई रोक्न सकेनन् ।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहालले कुनै पनि हालतमा प्रतिस्पर्धा नछोड्ने अडान लिएपछि शुक्रबार दिउँसो साढे १ बजेबाट बल्ल मतदान भएको हो । ओलीले रामेछापबाट चारपटक चुनाव हारेका कैलाश ढुंगेललाई नै सर्वसम्मत प्रदेश अध्यक्ष बनाउन सबै प्रयत्न लगाएका थिए ।
तर चारमध्ये तीनपटक प्रतिनिधिसभाको चुनाव जितेका दाहालले कुनै पनि हालतमा प्रतिस्र्धालाई रोक्न नसकिने अडान लिए । जसले बाध्य भएर चुनावमा जानुपर्ने स्थिति बनाएको हो । पाँचजना नेताले अध्यक्षमा उम्मेदवारी दिए पनि तीन जनाले नाम फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा भएको हो ।
ओलीले प्यानल बनाए कारबाही गर्ने चेतावनी बनाए पनि अन्ततः चुनाव जित्न ओली समूहले नै प्यानल बनाएको छ । मतदानस्थलमा अध्यक्षका संस्थापनपक्षीय उम्मेदवार कैलाश ढुंगेल, उपाध्यक्षका दावा दोर्जे लामा, सचिवका हस्तबहादुर पण्डित, उपसचिवका प्रेमबहादुर महर्जन र रीता गौतम ढकालसहित प्रदेशका विभिन्न सदस्यमा प्यानलको पर्चा छपाएर यो समूहले भोट मागेको हो ।
चुनाव नगर्न दबाबसहित प्यानल बनाएर कारबाही गर्ने चेतावनी दिए पनि अन्ततः चुनाव जित्न प्यानल खडा गरेर भोट हाल्नेको सूची सार्वजनिक गर्नुपर्ने बाध्यतामा पुगेको हो ।
कर्णालीमा पनि चुनाव

बन्दसत्र सकिएपछि कर्णाली प्रदेश कमिटीको निर्वाचनको लागि चुनावी प्रक्रिया शुरू भएको छ । कर्णालीमा अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएका थिए । तर यामलाल कँडेल पक्षका गुलाबजंग शाहले पनि प्रतिस्पर्धा गर्ने भएपछि कर्णालीमा पनि चुनाव हुने भएको हो । ओलीले शाही र कँडेलले शाहलाई अगाडि सारेपछि चुनावी प्रक्रिया शुरू भएको हो । शुक्रबार दरखास्त फाराम भर्ने, उम्मेदवारको प्रक्रिया पूरा गरेपछि शनिवार मध्यान्ह साढे १२ बजेदेखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
यी तीन प्रदेशमा मात्रै होइन कोशी र गण्डकीमासमेत चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
कोशीको अधिवेशन उद्घाटन गर्न शुक्रवार विराटनगर पुगेका ओलीले सर्वसम्मत गर्न निर्देशन दिएका थिए । अर्का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन् । तर कोशीमा घनश्याम खतिवडा र विनोद ढकाल एक–अर्कालाई नस्वीकार्ने तर चुनावमा जाने तयारीमा छन् ।
गण्डकीमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
एमाले विभाजनपछि अध्यक्ष ओलीले पार्टीमा कुनै समूह नदेखियोस् भनेर आन्तरिक प्रतिस्पर्धालाई सबैतिर रोक्न खोजेका छन् । चितवनमा भएको दशौं महाधिवेशनदेखि नै ओलीले रोक्न खोज्दाखोज्दै भीम रावल अध्यक्षमा उठेपछि प्रतिस्पर्धामा जान बाध्य भए । रावल प्रतिस्पर्धी बनेको भन्दै ओलीले उनलाई भूमिकाविहीन बनाउने मात्रै होइन गत प्रतिनिधिसभा निर्वाचनमा टिकट नै दिएनन् । तर सुदूरपश्चिममा एमालेको अवस्था कमजोर बनेपछि यतिखेर ओली रावलसँग सम्बन्ध सुधार गर्ने प्रक्रियामा छन् ।
प्रदेशमा पनि ओलीले चुनाव रोक्न खोजे पनि उनको प्रयास र निर्देशन एकपछि अर्को प्रदेशमा काम नलाग्ने देखिएको छ । ओलीले सहमति र सर्वसम्मतका नाममा दबाब बढाइरहँदा एकपछि अर्को प्रदेशमा चुनावतिरै नेता कार्यकर्ताको जोड देखिएको छ ।
यस्तोमा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहाल चुनावसम्मको प्रक्रियामा प्रवेश गराउनुनलाई नै उपलब्धि ठान्छन् । ‘यत्ति ठूलो पार्टीमा लोकतान्त्रिक हिसाबको चुनाव गर्ने विषयलाई रोक्न खोज्न कतिसम्म भयो भन्ने यो दुई तीन दिनको घटनाक्रमले पुष्टि गछर्,’ उनले लोकान्तरसँग भने, ‘चुनावमा उठ्दा जीतहार जे होला आफ्नो ठाउँमा छ । तर चुनावसम्म पुग्नका लागि कति प्रयत्न गरियो यसको लामो र ठूलो कहानी छ ।’