२६ असार २०८३, शुक्रबार

बजार अनुगमन थप प्रभावकारी बनाउन कावा प्रधानमन्त्रीको निर्देशन

असोज १२, २०८०
काठमाडौं
बजार अनुगमन थप प्रभावकारी बनाउन कावा प्रधानमन्त्रीको निर्देशन

कार्यवाहक प्रधानमन्त्री रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कालोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् । 
    
बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उनले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् । 

सिंहदरबारमा भएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू सहभागी थिए। 

बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे । 

चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महँगीको चपेटामा पर्ने अवस्था सिर्जना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभूत गर्ने गरी काम गर्न उनले निर्देशन दिए । 

अहिलेको बजार अनुगमन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन सङ्घीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै उनले बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समन्वय गराएर जान पनि अधिकारीहरूलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्