
क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ ।
कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक कास्की ३७ रनले विजयी भएको हो । टस जितेर खेलमा पहिला ब्याटिङ गरेको कास्कीले २७ ओभरमा एक सय तीन रन बनाएर सम्पूर्ण विकेट गुमाएको थियो ।
कास्कीको तर्फबाट आदित्य थापाले सर्वाधिक ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले समान तीन÷तीन विकेट लिए । तनहुँले जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएकामा उसले खेलमा ६६ रन मात्र जोड्न सफल भयो । कास्कीका बलरहरू नितेश गिरीले पाँच तथा अमृत गुरुङ र विश्वास पराजुलीले दुई÷दुई विकेट लिए ।
खेलमा पाँच विकेट लिएका कास्कीका नितेशनहाँलाई आयोजक सङ्घका कोषाध्यक्ष विरेन पुनले पुरस्कार प्रदान गरे।
गण्डकी प्रदेशमा क्रिकेट खेल विकासमा राम्रो सम्भावना बोकेका दुई जिल्ला बीचको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडी पहिचानमा सघाउ पुग्ने विश्वास लिइएको छ ।