
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अगाडिदेखि चलिराखेका र पछि बन्द भएका सबै नाका खुल्ने बताएका हुन् ।
भ्रमणका क्रममा अन्य नयाँ नाका खोल्ने विषयमा समेत छलफल भएको उनले बताए । 'कोभिड अगाडिदेखि चलिराखेका र पछि बन्द भएका सबै नाका खुल्ने भएका छन्,' विमानस्थलमा उनले भने, 'परम्परागत ढंगले नेपालीले प्रयोग गर्दै आएका स्थानीय नाका खोल्ने विषयमा पनि कुरा भएको छ । तयारी गरेर खोल्ने भन्ने भएको छ । वैधानिक ढंगले बढीभन्दा बढी नाका खोल्ने कुरा भएको छ ।'
उनले नेपालको नयाँ नक्साबारे पनि चिनियाँ पक्षसँग कुरा भएको दाबी गरे ।