
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिइएको विषयमा गम्भीर चासो व्यक्त गरेका छन् ।
सभापति रवि लामिछानेसहित नेताले सोमवार राष्ट्रपति पौडेललाई भेटी जघन्य अपराधमा संलग्नलाई आममाफी दिइएकोमा असन्तुष्टि जनाएका हुन् ।
शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सरकारले सिफारिश गरेका २४ जनाको नाम फिर्ता पठाएको स्मरण गराएका थिए ।
‘राष्ट्रपतिमार्फत हामीले सरकारलाई सचेत गराएको हो । भेटमा उहाँले २४ जनाको नाम फिर्ता गरेको स्मरण गराउनुभयो,’ भेटमा सहभागी रास्वपा सांसद निशा डाँगीले लोकान्तरसँग भनिन् ।
संविधान दिवसको अवसरमा व्यक्ति हत्याको कसुरमा जेल सजाय व्यहोरिरहेका व्यक्तिलाई समेत आममाफी दिइएको भन्दै रास्वपा सभापति लामिछानेले संसद्मा आपत्ति जनाएका थिए ।
यसैबीच, रास्वपाले संविधान दिवस या गणतन्त्र दिवसको अवसरमा राजनीतिक आस्थाको आधारमा भइरहेको आममाफी सम्बन्धमा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने भएको छ ।
बुधवारसम्म जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ताको तयारी भएको सांसद डाँगीले जानकारी दिइन् ।