
यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले समातेको छ ।
भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतवार साँझ बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए ।
सहप्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाका अनुसार गैँडाकोटको कोटिहोम चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरू ओर्लने क्रममा अली सो रकम चोरेर जंगलतर्फ फरार भएका थिए ।
प्रियारले आफ्नो रकम हराएको भनि पितौजीस्थित सशस्त्र प्रहरीको हाइवे सुरक्षा चेकपोस्टलाई जानकारी गराएका थिए । त्यसपश्चात पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैँडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।
नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारबाहीका लागि बेल्डियास्थित प्रहरी चौकीमा बुझाइएको छ ।