२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

रेशम चौधरीले लिए कार्यकारी अधिकार, बहालवाला सचिवविरुद्ध अदालतमा मुद्दा

असोज १६, २०८०
काठमाडौं
रेशम चौधरीले लिए कार्यकारी अधिकार, बहालवाला सचिवविरुद्ध अदालतमा मुद्दा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी पुस २६, २७ र २८ गते टीकापुरमा गर्ने निर्णय भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशन थारु आन्दोलनको केन्द्र टीकापुरमा गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

 बैठकले नागरिक उन्मुक्तिको महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय गरेको छ ।  यससँगै टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेर पनि राष्ट्रपतिको आममाफीको आधारमा छुटेका चौधरी पार्टीमा शक्तिशाली बनेका छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९÷०८० मा १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो दाबी गर्दै १६२ भ्रष्टारचार मुद्दा दायर गरेको छ ।

गत आवमा परेका कुल २८ हजार ६७ उजुरीमध्ये १६२ वटामा छानबिन सकेर आरोप पत्र दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आव २०७९÷०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि प्रवक्ता दाहालले पत्रकार भेटघाट कार्यक्रम राखेका थिए ।
००००
नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर २५ करोड रुपैयाँमा एनपीजीसम्बन्धी सफ्टवेर खरिद गरेको विषयमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार करीब सवा २३ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसैबीच सचिव मधुकुमार मरासिनी स्वतस् निलम्बनमा परेका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । 

संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जस–अपसजको भागीदार सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरेका छन् ।  
००००
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र रहेको विवादित जग्गाका धनीलाई मुआब्जा नदिने निर्णय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विवादित जग्गाका विषयमा अध्ययन गर्दा मुआब्जा दिनुपर्ने नदेखिएकाले यस्तो निर्णय गरेको हो ।
००००
कात्तिक १४ देखि अनिवार्य अवकाशमा जान लागेका सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा सोमवारदेखि इजलासमा बस्न छाडेका छन् ।
सिन्हा इजलासमा बस्न छाडेसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या १४ मा झरेको छ ।
००००
काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए ।
००००
राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध रु १५ करोड भन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । 
विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।
००००
राप्रपाले पार्टीमा क्रियाशील दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
००००
नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
००००
नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
००००
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएको छ । सोमवार साँझ सम्पन्न मतगणनाअनुसार उनी ३६९ मत ल्याएर विजयी भएका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । सोमबार परिसूचक पाँच दशमलव १९ अंकले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अंकमा कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्