चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।
भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।
पराजित भए पनि नेपालले भारतलाई कडा चुनौती दिएको थियो । जवाफी ब्याटिङका क्रममा नेपालका ब्याटरले सानदार ब्याटिङ गरेका थिए ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २९ रन बनाए । १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे ।
कुशल भुर्तेल २८, कुशल मल्ल २९, करण केसीले १८ र आसिफ शेख १० रन बनाएर आउट भए । सोमपाल कामीले सात, सन्दीपले पाँच र कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।
भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन/तीन विकेट लिए । यस्तै अर्शदीप सिंहले दुई विकेट लिए । साई किशोरले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए ।
यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए ।
नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिए ।
नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको थियो । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।
नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो । आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।
नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।