
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझेदार दलकै कार्यकर्ता रहेका उनले दाबी गरे ।
मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै ओलीले सरकारले हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाएका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ, गराउँछ । यो मैले किन भनेको भने हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन,’ उनले भने, ‘मेरो ज्यान मार्न खोज्ने त्यस्ता मान्छेलाई समाउँदैन, समातेझैँ गर्न खोज्यो भने तत्काल छाड्छ । पहरीको टाउको फुटाउने त्यो स्तरको हमला हुँदा, हामीमाथि हमला हुँदा केही नगर्नु भन्ने आदेश गर्छ ।’
गठबन्धनबाहेक दलको अस्तित्व सरकारले स्वीकार नगरेको ओलीले आरोप लगाए । ‘हामीमाथि आक्रमण गर्ने गठबन्धका सहयात्री पार्टीका कार्यकर्ता छन् । प्रधानमन्त्रीसँग धेरैपटक यो विषय आग्रह गरेको छु । हिंसालाई प्रोत्साहन गर्ने काम अनेक ठाउमा भइरहेको छ,’ उनले भने ।
गत वैशाखमा ओलीमाथि पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका थिए । ‘कोशी’ नामकरणको आन्दोलन चर्किरहेका बेला पूर्वी पहाडी जिल्ला पाँचथर र इलाममा मात्र नभएर गृहजिल्ला झापामा समेत उनीमाथि आक्रमण प्रयास भएको थियो । उनले मंगलवार संसद्मा यसै विषय उठान गरेका हुन् ।