
मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले हिजै साँझ बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो ।
सोमवार साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले मंगलवार वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राससलाई बताए ।
सोमवार साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेशसभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।