
भूकम्पका कारण बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाईमा विद्यालय भवन भत्किएको छ ।
मंगलवार दिउँसो आधा घण्टाको बीचमा दुईपटक भूकम्प जाँदा बालविकास माध्यमिक विद्यालय गोलाईको भवन भत्किएको हो ।
पहिलो धक्कालगत्तै विद्यार्थीहरूलाई घर पठाएकाले मानवीय क्षति हुन नपाएको तस्वीरसहित स्थानीय पत्रकार नरेन्द्र उपाधयायले फेसबूकमा लेखेका छन् ।
पूर्व वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन खातीले दिवा खाजा बनाउने घर भत्किएको जानकारी लोकान्तरलाई दिए ।
विद्यार्थीहरूलाई घर पठाइसकिएकाले चोटपटक लाग्न नपाएको उनले बताए ।
शुरूमा दिउँसो २ बजेर ४० मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछाडि ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उपाध्यायका अनुसार शुरूको भूकम्पलगत्तै विद्यार्थीहरूलाई घर पठाइएको थियो । दोस्रोपटकको भूकम्पले भवन भत्किएको हो ।
बझाङमा गएको भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको छ । काठमाडौंमा ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको थियो ।