
कर्फ्युको समयमा पनि ठाउँठाउँमा झडप हुने अवस्था देखिएपछि बाँकेको नेपालगन्जमा नेपाली सेना (आर्मी) परिचालन गरिएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच धार्मिक द्वन्द्वको रूपमा आमने–सामने भएपछि मंगलवार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सेनाको सद्भाव बिथोल्ने कार्य रोक्नको लागि सेनाको सहयोग लिइएको लोकान्तरलाई जानकारी दिए ।
दुवै समूहलाई छलफलका लागि बोलाइए पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन् । ठाउँठाउँमा हिन्दु र मुस्लिम समुदायका मानिसहरू सडकमा निस्किएको बताइएको छ ।
नरैनापुरका एक युवाले मुस्लिम धर्मप्रति आक्षेप लगाउने गरी लेखेको फेसबूक स्टाटसले बाँकेमा धार्मिक द्वन्द्व निम्तिने अवस्था देखिएको छ ।
मंगलबार सद्भाव कायम गर्न निकालिएको र्यालीमा झडप भएपछि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।
कर्फ्यु पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म रहेको छ । झडप भएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।