०९ साउन २०८३, शनिबार

मन्त्रिपरिषद्को बैठकपछि सरकारको आग्रह– जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्नू

असोज १६, २०८०
काठमाडौं
मन्त्रिपरिषद्को बैठकपछि सरकारको आग्रह– जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्नू

सरकारले जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह पनि गरेको छ ।

‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोग कर्ताले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकुल असर हुनेगरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै धारमा घृणा,द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनु हुन एवं विभिन्न जातजाति वा सम्प्रदायबीको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सरकार आग्रह गर्छ,’ बैठकपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

मंगलवार नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच तनाव भएको थियो ।  दिउँसो १ बजेदेखि सरकारले निषेधाज्ञासमेत लगाएको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने, निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिनेलगायतका निर्णयसमेत गरेको छ ।

यसैगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृत दिने पनि निर्णय भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्