
लुम्बिनी, बागमती, कर्णाली र कोशीपछि गण्डकीमा पनि केन्द्रीय अध्यक्ष केपी शर्मा ओली समूहलाई टक्कर दिन एमालेको अर्को समूह चुनावी मैदानमा उत्रिएको छ ।
अध्यक्ष ओलीले सकेसम्म आफैंले भनेका उम्मेदवारलाई सर्वसम्मत बनाउने, नभए आफू निकटलाई जिताउने अडान लिएपछि गण्डकी एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमा उम्मेदवार अघि सारेका हुन् ।
बन्दसत्र सकिएपछि पनि सहमतिको नाममा दुई दिनको समय लम्बियो । अन्ततः अरू प्रदेशमा जस्तै गण्डकीमा पनि प्यानलगत प्रतिस्पर्धा पक्का भएको हो ।
सहमति सम्भव नभएपछि अहिलेसम्म भएका चार प्रदेशको नेतृत्वमा ओली समूहबाट कोशी र बागमती तथा अर्को समूहबाट लुम्बिनी र कर्णालीमा नेतृत्व चुनिएको छ ।
खासगरी गण्डकी एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी परम्परागत प्रतिस्पर्धी हुन् । यी दुवै सहमतिमा आउन तयार नभएपछि पदाधिकारीमा समूहगत प्रतिस्पर्धा पक्का भएको हो ।
सहमतिको प्रयास सफल नभएपछि आ-आफ्नो ढंगले अगाडि बढ्ने तयारी भएको उपमहासचिव गुरुङले बताए ।
'हामीले दुई/तीन दिन लगाएर सहमतिको प्रयास गर्यौं, तर भएन,' गुरुङले लोकान्तरसँग भने, 'अब आ-आफ्नो हिसाबले प्रतिस्पर्धा गरेर अगाडि जाने तयारी भएको छ ।'
गण्डकीमा गुरुङले अघि सारेका उम्मेदवारलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलको पनि समर्थन रहेको नेताहरू बताउँछन् । तर, अध्यक्ष ओली महासचिव शंकर पोखरेल र खगराज अधिकारी लगायतले अर्कै उम्मेदवार खडा गरेका छन् ।
अध्यक्ष ओलीले प्यानल नबनाउन सबै प्रदेशलाई निर्देशन दिएका थिए । तर गण्डकीमा ओली समूहले नै पहिले प्यानलको टुंगो लगाएको हो ।
संस्थापनले नै प्यानलको टुंगो लगाएपछि अर्को समूह पनि प्यानलसहित प्रतिस्पर्धाका लागि खडा भएको हो ।
को–को छन् प्रतिस्पर्धामा ?
गुरुङ प्यानलबाट अहिलेका अध्यक्ष म्याग्दीका नवराज शर्माको टीमलाई अगाडि सारिएको छ ।
त्यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडीलाई गुरुङ पक्षले अगाडि सार्दैछ ।
उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी र खुलातर्फ कास्कीका दामबहादुर उम्मेदवार बन्ने बताइएको छ ।
यता ओली, पोखरेल र खगराज समूहबाट अध्यक्षमा लमजुङका मायानाथ अधिकारी र उपाध्यक्षमा नवलपुरका बाबुराम विकलाई अगाडि सारिएको छ ।
सचिवमा यो समूहबाट कास्कीका रश्मी आचार्य, उपसचिव महिलामा मीना गुरुङ र खुलामा म्याग्दीका सन्तोष रावल उम्मेदवार बन्ने बताइएको छ ।
गण्डकीमा आजै निर्वाचनको प्रक्रिया अगाडि बढ्दैछ ।