२७ जेठ २०८३, बुधबार
कांग्रेसमा शक्ति हत्याउने होड

कांग्रेसको बदलिँदो समीकरण: शेखरसँग नजिकिन थालेका हुन् बालकृष्ण खाँण ?

असोज १७, २०८०
काठमाडौं
कांग्रेसको बदलिँदो समीकरण: शेखरसँग नजिकिन थालेका हुन् बालकृष्ण खाँण ?

नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलमा बलियो प्रभाव भएका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । तर, खाँणको शक्तिलाई आफ्नो पक्षमा पार्न कांग्रेसमा होडबाजी देखिएको छ । 

सभापति शेरबहादुर देउवा खाँणको अप्ठ्याराबीच उनलाई आफ्नै समूहमा टिकाउन लागिरहेका छन् । तर, त्यो भन्दा बढी खाँण जेलमै रहेका बेला उनको मुद्दाप्रति चासो देखाउँदै आफ्नो पक्षमा तान्न डा. शेखर कोइरालाको सक्रियता देखिएको छ ।

खाँण पक्राउ परेलगत्तै शेखरको टीमले पार्टीबाटै निलम्बनसम्मको माग गरेको थियो । 

शेखर स्वयंले पनि ७ साउनमा बसेको केन्द्रीय समिति बैठकमा खाँणप्रति लक्षित गर्दै ‘भ्रष्टाचार  र भ्रष्टाचारीलाई संरक्षण गर्न हुँदैन,’ भनेका थिए ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका युवा नेता पनि यही लाइनमा थिए । उनीहरू त पार्टी भ्रष्टाचारका विषयमा झन् बढी निर्मम हुनुपर्ने पक्षमा थिए । 

खाँणको नाम उल्लेख नगरी आक्रोश पोखेका उनै शेखरले ३५ दिनमा दुईपटक केन्द्रीय कारागारमै पुगेर भेटेका छन् । यी भेटहरूले गुट अदलबदलको संकेत देखाएको कांग्रेस स्रोत बताउँछ । 

३१ साउनमा खाँणलाई भेट्न जेलमा पुगेका शेखर फेरि ६ असोजमा सुन्धारा जेल पुगेका थिए । पहिलो भेटमा खाँणले शेखरसँग आफू निर्दोष रहेको भन्दै उच्च अदालतबाट छुट्ने बताएका थिए । 

एक महिनालगत्तै फेरि शेखर खाँणलाई भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ । दुई नेताबीच भएको भेटका विषय बाहिर आएका छैनन् । तर शेखरले खाँणलाई छुटाउने आश्वासन दिएको स्रोतको दाबी छ । 

शेखरले बुधवार कपिलवस्तुको जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । त्यस्तै बिहीवार खाँणकै गृहजिल्ला रुपन्देही ४ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दैछन् ।

खाँणको आधार इलाकामा शेखर दुई/तीन दिनको कार्यक्रम बनाएर जानु पनि उनीहरू नजिकिँदै छन् भन्ने संकेत भएको कांग्रेसका एक नेताले दाबी गरे ।

आखिर किन यस्तो गर्दैछन् शेखर ? 

पटक–पटक मन्त्री भएर कांग्रेसको आन्तरिक राजनीतिमा बलियो प्रभाव जमाएका खाँणको केन्द्रीय समिति, संसदीय दल, जिल्ला सभापति, तरुण दलसहितमा बलियो प्रभाव छ । देउवाका निम्ति १३ औं र १४ औं महाधिवेशनमा पनि पदाधिकारीमा उनले दाबी गरेनन् ।

देउवालाई बोक्दै आएका उनै खाँणलाई अप्रत्याशित रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणले जेलसम्मै बसेर मुद्दा लड्ने परिस्थिति बनाइदियो । देउवालाई नजिकबाट साथ दिए पनि उनले आफूलाई अप्ठ्यारोमा नबचाएको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।

उनको असन्तुष्टिको पारो अझै घटेको छैन । यसैले देउवा क्याम्पका यिनै खम्बा खाँण अप्ठ्यारोमा परेको अवस्थामा उनको शक्ति बुझेरै शेखरले नरम नीति लिएका हुन् ।

खाँणको आधार इलाकामा शेखर दुई/तीन दिनको कार्यक्रम बनाएर जानु पनि उनीहरू नजिकिँदै छन् भन्ने संकेत भएको कांग्रेसका एक नेताले दाबी गरे ।

१४ औं महाधिवेशनमा असफल भएपछि शेखर १५ औं महाधिवेशनमा आफूलाई टीमको एउटा बलियो र पहिलो नेतामा उभ्याउन चाहन्छन् ।

फेरि एकपटक देउवाविरुद्ध कसरी बलियो बन्न सकिन्छ भन्ने सबै रणनीति अख्तियार गर्नुपर्ने बाध्यता उनलाई छ, किनकि देउवा टीम नफुटाइ शेखरको लक्ष्य पूरा हुन कठिन देखिन्छ । यही बाध्यताबीच खाँण यतिखेर शेखरका लागि नभइ नहुने पात्रमा दरिएका छन् । 

गगनले १५ औं महाधिवेशनमा सभापतिमा आँखा लगाइरहेका छन् । त्यसअघि नै देउवाविरोधी शक्ति सन्तुलन आफ्नो पक्षमा पार्नुपर्ने बाध्यता शेखरसामु छ ।

यसैले सबै सम्भावित शक्ति परिचालन र रणनीति अख्तियार गर्ने नीति लिएर शेखर जेलमा भेट्न जानेदेखि खाँणको गृहजिल्ला र प्रभावित क्षेत्रमा कार्यक्रम लिएर पुग्न लागेको बताइन्छ । 

‘राजनीति सधैं सरल रेखामा अघि बढ्दैन । अप्ठ्यारो र अन्योलबाट माथि उठाएर नेता बन्न सक्नु नै नेताको खुबी हो । शेखर दाइको पनि एकपटक कांग्रेसको कमाण्ड जसरी हुन्छ गर्ने भन्ने नै तयारी देखिन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसैले कुनै प्रस्ट आधार र प्रमाणाविना नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेर मुद्दा खेपेका खाँणप्रति सद्भाव देखाउनु र अप्ठ्यारो पर्दा म पनि तपाईंसँगै छु भन्नु अन्यथा होइन ।’

कति बलिया छन् खाँण ?

नेविसंघ, तरुण दल हुँदै सभापति देउवाको विश्वासपात्र बन्दै आएका खाँण कांग्रेसका बलिया नेतामध्येका हुन् । देउवाले पटक–पटक विश्वास गरेर प्रभावशाली मन्त्रालय दिने, प्रमुख सचेतकसहितको जिम्मा दिएका थिए । पार्टीको संरचनामा ठूलो पद खाँणले पाएका छैनन् । तर, पटक–पटक मन्त्री बन्ने, पार्टीको संरचनामा हिस्सा खोज्ने स्वभावका कारण खाँण पार्टीको महत्त्वपूर्ण पदमा नपुग्दा पनि शक्तिशाली र निर्णायक छन् । 

फाइल तस्वीरमा बालकृष्ण खाँण

खाँणको केन्द्रीय समिति, संसदीय दल, जिल्ला सभापति, तरुण दलसहितमा बलियो र प्रभाव र होल्ड छ । कांग्रेसको युवा संगठन तरुण दलमा त खाँणको सहमति र अनुमतिविना अझै पनि कसैले केही गर्नै नसक्ने अवस्था रहेको बताइन्छ ।

यो संगठनको जालो पार्टीको तल्लो तहसम्मै छ । केन्द्रमात्रै होइन, महाधिवेशन प्रतिनिधिसम्मै प्रभाव पार्न सक्ने सामर्थ्य खाँणले राखेका छन् । जो–जो तरुण दलका अध्यक्ष र नेता भए, उनीहरू खाँणप्रति जतिबेला पनि अनुग्रहित हुने गर्छन् । 

१६७ सदस्यीय केन्द्रीय समितिमा खाँण निकटका तीन सहमहामन्त्री भएको बताइन्छ, जसमा महेन्द्र यादव, भीष्मराज आङदेम्बे प्रमुख छन् ।

केही समययता डिना उपाध्याय पनि कांग्रेसको संस्थापनसँग असन्तुष्ट छिन् । 

खाँण निकटका २० हाराहारी केन्द्रीय सदस्य छन् । ८८ मध्ये खाँण निकटका सांसदको संख्या १० हाराहारी रहेको बताइन्छ । शेखरले खाँणको सबैभन्दा ठूलो स्ट्रेन्थ नै यही संसदीय दलको हिस्सामा देखेको बताइन्छ । ३२ देखि ३४ सांसदको साथ भएका शेखरलाई संसदीय दलको नेता बन्न कम्तीमा पनि थप १० सांसदको साथ आवश्यक पर्छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणको अप्ठ्यारो र जटिल अवस्थामा खाँणलाई साथ दिँदा एकातिर संसदीय दलको नेतामा धावा बोल्न सकिने ठाउँ मिल्नेछ । यस्तो अनुकूलता मिले दलको नेता परिवर्तन गराउनेसम्मको तयारीबाट शेखर पछाडि हटेका छैनन् । अर्कातिर १५ औं महाधिवेशनमा सम्भावित समीकरण त छँदैछ । 

‘गगन थापा देउवासँग भिड्दा २५ मत पाए पनि संसदीय दलमा हाम्रो हिस्सा ३२ देखि ३४ सांसदको हो । यस्तोमा ८ देखि १० जना सांसद बढाउन सक्दा संसदीय दलको नेतामा सभापति देउवालाई चुनौती दिन सकिन्छ भन्ने हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘खाँणको देउवासँग दुरी बढेर जाने हो भने उहाँका सांसदले शेखर दाइलाई समर्थन गर्ने अवस्था बन्न सक्छ, जसले १५ औं महाधिवेशनको चित्र बदल्न सक्छ ।’

प्राविधिक हिसाबले खाँण निकटका सांसद पनि अहिले देउवातिरै गणना हुन्छन् । खाँणले आफूलाई अप्ठ्यारोमा साथ दिन सक्ने सम्भावित सूचीमा रामहरि खतिवडा, उदयशमशेर राणा, मञ्जु खाँण, रुपा विक, शान्ति विक, दिनेश यादव र कान्तिका सेजुवाललाई राखेको बताइन्छ । निलम्बित सांसद टेकबहादुर गुरुङ पनि खाँणपक्षकै मानिन्छन् । वारपार नै हुने अवस्था आए अझै तीन/चार जना सांसदलाई अर्को समूहतिर लिएर जाने सामर्थ्य खाँणले राख्ने उनी निकटस्थ एक नेताले बताए ।

अप्ठ्यारोमा आफूलाई शेखरले साथ दिन खोजेपछि खाँणलाई भने रणनीतिक हिसाबले देउवामाथि दबाब बनाउन सहज भएको देखिन्छ, किनकि देउवाले चाहेको भए आफूलाई पक्राउ पर्नबाट रोक्न सक्ने अवस्था रहेको खाँणले निकटस्थसँग बताउने गरेका छन् । यसैले पहिले विरोधमा रहेका शेखरले भेट्ने र अप्ठ्यारोमा साथ दिन्छु भन्ने अवस्थाले खाँण थप आशावादी र रणनीतिक देखिएका छन् । 

‘सधैं देउवा–देउवा भनेर लाग्नुभयो, दुईपटक सभापतिमा जिताउन उहाँले कुनै पदमा दाबी गर्नुभएन । उहाँको पनि तयारी १५ औं महाधिवेशनमा निर्णायक र महत्त्वपूर्ण पदमा जानुपर्छ भन्ने थियो । तर बीचमा उहाँमाथि अन्यायपूर्वक मुद्दा लगाइयो,’ खाँण निकट स्रोत भन्छ, ‘अप्ठयारोमा देउवालाई साथ दिनुपर्ने तर उहाँलाई पर्दा यसैगरी चुपचाप बसिरहरने हो भने जसले साथ दिन्छ उसैले समर्थन र शक्ति पाउँछ, राजनीतिमा हुने यही हो ।’

खाँणले ‘ब्याक टु ब्याक’ शेखरलाई भेटेर देउवालाई पनि गतिलो सन्देश दिएको ती नेता बताउँछन् । ‘उहाँलाई विनाकारण फसाइएको भनेर दुनियाँले बुझेको छ । यसैले अब पनि सभापतिले उहाँप्रति नरम नीति नलिने हो भने समूहमा जे पनि हुन सक्ने अवस्था छ,’ ती नेता भन्छन्, ‘अहिले नै टीम परिवर्तन हुने भन्ने त होइन, तर अगाडिको बाटो हेरेर थप निर्णय लिने मनस्थितिमा पुग्नुभएको हामीले पाएका छौं ।’

४ असोजमादेखि बसेको केन्द्रीय समिति बैठकमा पनि धेरै नेताहरूले कांग्रेस नेतामाथि मात्रै निशाना साँधेको भन्दै सरकारको आलोचना गरेका थिए । देउवाले खाँणमाथि मुद्दामात्रै लागेकाले दोषी नभएको भनी नरम अभिव्यक्ति दिए । शेखरले निरन्तर भेटेपछि देउवा पनि झस्किएको बताइन्छ ।

खाँण निकटका नेता सहमहामन्त्री महेन्द्र यादव पनि केन्द्रदेखि तल्लो तहसम्म प्रभाव र आधार भएका खाँण बलियो नेता भएको बताउँछन् । 

‘सभापति देउवाले १५ औं महाधिवेशनका लागि शशांकलाई ग्रीन सिग्नल दिएपछि पनि अर्को अवस्था आउने देखियो, किनकि वर्षौंसम्म देउवालाई साथ दिएका पूर्णबहादुरदेखि बालकृष्ण खाँणसम्मले देउवाको यो निर्णय मान्नेवाला छैनन्,’ कांग्रेस स्रोत भन्छ, ‘यसैले भुटानी शरणार्थी प्रकरणको अप्ठ्यारोमा साथ दिएको जस्तो पनि देखिने र यसले १५ औं महाधिवेशनमा काम गर्ने भएपछि शेखरले सहानुभूति देखाएको र साथ दिएको देखिन्छ ।’ 

‘शुरूमा धेरैलाई उहाँको मुद्दाप्रति ‘कन्फयुजन’ थियो । तर अहिले उहाँलाई फसाइएको हो भन्ने धेरैले बुझ्न थाल्नुभयो । नेताहरूले धारणा नै परिवर्तन गरेर उहाँलाई भेट्न जाने र सद्भाव राख्ने गरिरहनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘उहाँलाई भेट्न पदाधिकारी, मन्त्री, नेता सबै जान्छन्, सहानुभूति राख्छन् । पार्टीका सबै समूहले उहाँप्रति सहानुभूति देखाउनुभएको छ । उहाँको प्रभाव र कसैलाई नचिढ्याउने शैली नै उहाँको शक्ति हो ।’

खाँणलाई भेट्न मन्त्री एनपी साउद, मुख्यमन्त्रीहरू सुरेन्द्र पाण्डे, डिल्ली चौधरी, उद्धव थापा जेलमा पुगेका थिए । डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहितका दर्जनौं नेता जेलमा पुगिरहेका छन् । खाँणलाई भेट्न जानेको दिनहुँजसो मेला नै लाग्ने गरेको छ । 

गिरिजाप्रसाद कोइराला, गणेशमान श्रेष्ठ र किसुनजीसँग निकट भएर काम गरेका खाँणको प्रभाव आज पनि उत्तिकै रहेको र भोलि पनि हुने यादव बताउँछन् । 

‘उहाँले पार्टीमा गिरिजा, गणेशमान, किसुजनी सबैलाई सधैं सम्मान र साथ दिनुभयो । उहाँ आज पनि सबैलाई सम्मानपूर्वक हेर्नुहुन्छ,’ यादवले भने, ‘उहाँको प्रभाव र कमान्ड पदाधिकारी, केन्द्रीय सदस्य, दल सबैतिर छ । भोलि पनि रहन्छ । उहाँको व्यवहारले सबैले साथ दिन्छन् । उहाँ निर्दोष भएकाले अब केही समयमा छुट्नुहुन्छ । अनि पार्टीमा कसरी अगाडि बढ्ने योजना बनाउनुहुन्छ ।’ 

यतिमात्रै होइन, शेखर र खाँणलाई नजिक ल्याउन शशांक कार्डले पनि उत्तिकै काम गरेको बताइन्छ । 

‘सभापति देउवाले १५ औं महाधिवेशनका लागि शशांकलाई ग्रीन सिग्नल दिएपछि पनि अर्को अवस्था आउने देखियो, किनकि वर्षौंसम्म देउवालाई साथ दिएका पूर्णबहादुरदेखि बालकृष्ण खाँणसम्मले देउवाको यो निर्णय मान्नेवाला छैनन्,’ कांग्रेस स्रोत भन्छ, ‘यसैले भुटानी शरणार्थी प्रकरणको अप्ठ्यारोमा साथ दिएको जस्तो पनि देखिने र यसले १५ औं महाधिवेशनमा काम गर्ने भएपछि शेखरले सहानुभूति देखाएको र साथ दिएको देखिन्छ ।’ 

तर, शक्ति र सत्ताको राजनीतिमा खेल्न सिपालु देउवासँग रणनीतिक हिसाबले अघि नबढ्दा हुने जोखिम पनि खाँणलाई छ ।

अर्कातिर पार्टीमा परिवर्तनको लहरमा सँगै हिँडेका गगन थापासहितका युवा नेताको भावनालाई सन्तुलन मिलाउनु पर्ने चुनौती शेखरका लागि पनि देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्