![इजरायलमा हमासको आक्रमण [अपडेट] गाजापट्टी क्षेत्रमा दुवैतर्फ गरी कम्तीमा ३०० जनाको मृत्यु](https://lktcdn2.prixacdn.net/media/9108c550-650f-11ee-a0c8-ab8a89e71afa_tKN9yqW1cF.jpg)
जेरुसेलम–इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।
प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका छन् ।
यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिवार जनाएको छ ।
‘गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।