
इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सकाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनमार्फत सीआईबीले चिनियाँ नागरिक दावा जिनसहितका व्यक्तिहरूलाई अभियुक्त बनाएको छ ।
सीआईबीले भन्सारसम्बन्धी कसुर र संगठित अपराधमा शुक्रवार राय प्रतिवेदन बुझाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेका अनुसार राय प्रतिवेदन आएको र भोलि (सोमवार) अभियोजन गर्ने तयारी गरेको लोकान्तरलाई बताए ।
‘हामीले आज म्याद थप गरेका छौं । हामी कहाँ आइपुगेको छ, अध्ययन सकाएर अभियोजन गर्ने तयारीमा छौं,’ प्रमुख नेउपानेले भने ।
सीआईबीले भदौ १३ गते पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको थियो ।
सीआईबीले पहिलो अनुसन्धानमा चिनियाँ नागरिकसँग फोन सम्पर्क देखिएको चार्ट राय प्रतिवेदनमा उल्लेख गरेपछि चौतर्फी पक्राउ गर्नुपर्ने दबाब आएको थियो ।
सीआईबीले केही समय अगाडि दावा जिनका ड्राइभरलाई पनि पक्राउ गरेको थियो ।