
इजरायल घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विशेष बैठक र सर्वदलीय बैठक बोलाएको छ ।
इजरायलमा हमास समूहको आक्रमणपछि १० नेपालीको निधन तथा केही घाइते र बेपत्ता भएपछि छलफल गर्न सरकारले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को विशेष बैठक र ५ बजे सर्वदलीय बैठक बोलाएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
‘इजरायलमा भएको घटनापछि राहत, उद्धारसहितका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक ४ बजे बोलाइएको छ । लगत्तै ५ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाइएको छ,’ शर्माले लोकान्तरसँग भने ।
१० नेपालीको निधन भएको पुष्टि आइतबार गरिएको थियो । केही घाइतेको उपचार भइरहेको र केही अझै बेपत्ता भएकाले उद्धारका लागि पहल गर्न सरकारमाथि दबाब परेको छ । त्यस्तै, निधन भएकाको शव नेपाल ल्याउने र राहतसहितका विषयलाई सरकारले प्राथमिकतामा राखेको छ ।
नेपाली समयअनुसार शनिवार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गर्नुभएको हो। सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गर्नुभएको थियो। प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिनुभएको थियो’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाउनुभएको थियो।’
सो बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्यापिड एक्सन टीम गठन गरेको र उक्त टीमले नेपालीहरूको स्वदेश फिर्तीका लागि पहल गरिरहेको सचिवालयले जनाएको छ ।
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको जानकारी दिएको छ ।