![गोंगबु बसपार्कका काउन्टरमा यात्रुलाई सास्ती, रातभरि लाइनमै सुत्दा पनि टिकट पाइएन [तस्वीर र भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Bus_Park_Ticket_Booking3_4OHyRGugrw.png)
सोमवार बिहान ११ बजे गोंगबु बसपार्कमा पुग्दा एकजना सर्वसाधारण यात्रु चिन्तित देखिन्थे । अछाम घर भएका ती यात्रु दशैंमा घर जाने टिकट लिन आइतवार राति ९ बजेदेखि नै काउन्टर अगाडिको लाइनमा बसेका थिए । लाइन बस्दा–बस्दा त्यहीँ सुते, त्यहीँ निदाए । रातभरि त के भोलिपल्ट बिहान ११ बजेसम्म पनि टिकट नपाउँदा उनको अनुहार नै गलेको देखिन्थ्यो ।
‘म हिजो राति ९ बजेबाट नै लाइनमा बसेको हुँ, यही लाइनमा नै सुतेँ । अहिले बिहान ११ बजेसम्म पनि टिकट हात परेको छैन,’ लोकान्तरसँग उनले आफ्नो सास्तीको भडाँस पोखे ।

टिकट काउन्टरसम्म लाइन नपुग्दै भित्र टिकेट सिद्धिएको गुनासो उनले गरे । केही गर्दा टिकट नपाएपछि उनले विकल्प सोच्दै भने, ‘पहाड (अछाम)को टिकेट पाइएन, अब तल धनगढीसम्मको टिकट काट्छु ।’

बाजुराका घर भएका अर्का यात्रीको पनि दुःख उस्तै थियो । सक्नेले जथावाभी टिकट काट्ने, कसैले नपाउने अवस्था आएको उनको गुनासो थियो । ‘एक जान व्यक्ति लाइनमा बसेर २० जनाको टिकेट काटेर लान्छन्, अनि हामी जति लाइन बसे पनि टिकट पाउँदैनौं, उनले भने, ‘तर अब जति समय लागे पनि टिकेट लिएर मात्र जाने हो ।’

सरकारले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरेर सोमवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । सङ्घीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर सोमवारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । गत वर्षहरूका तुलनामा नयाँ बसपार्कमा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमका दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वका ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।







हेरौं भिडियोः