
आफ्नो संगठनको बर्दी लगाएका तस्वीर तथा भिडियो सामाजिक सञ्जालहरूमा राख्नेलाई सशस्त्र प्रहरी बलले कारबाही शुरू गरेको छ । टिकटक, फेसबूकलगायतका सामाजिक सञ्जालमा राख्न नपाइने भएको हो ।
यसका लागि देशभरका युनिटहरूलाई परिपत्र गरिएको सशस्त्रका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले लोकान्तरलाई बताए ।
‘सामाजिक सञ्जालमा जथाभावी बन्र्दीमा फोटो–भिडियो नहाल्न परिपत्र गरेका छौं,’ उनले भने ।
एसपी खड्काका अनुसार अहिलेसम्म देशभरमा प्रहरी जवानदेखि सिनियर अधिकृतसम्म ५० जनाभन्दा धेरैलाई कारबाही गरिसकेको छ । विशेषगरी बर्दीमा बन्दुक बोकेर टिकटक बनाएको तथा कार्यालय समयमा बनाएर काममा असर परेकाले बन्द गरिएको सशस्त्रले जनाएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा जथाभावी तस्वीर–भिडियो दुरुपयोग भएपछि नियन्त्रण गरिएको सशस्त्रले स्पष्ट पारेको छ । तर सशस्त्रका कर्मचारीहरूले ‘सिभिल ड्रेस’मा भने तस्वीर–भिडियो राख्न पाउँछन् ।