
काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको छ । काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेको भन्दै महानगर प्रमख बालेन्द्र शाहले आगामी ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने बताएका छन् ।
पशु कल्याण र पशु अधिकारका लागि आफूहरू सचेत रहेको भन्दै सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने उनले बताएका छन् ।
'मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ । ९ वडा हुँदै हामी ३२ वडा पुग्नेछौं,' उनले फेसबुकमा लेखेका छन् ।