
सशस्त्र प्रहरीले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याएको छ ।
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा चाडपर्वलाई लक्षित सहायता कक्ष राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसका साथै स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।

डीएसपी थापाका अनुसार आवश्यक देखिए अन्य स्थानहरूमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरू स्थापना गरी सेवा प्रदान गरिने छ ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको हो ।
सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिए हेल्थ डेस्कमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरूद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।