
सत्ता गठबन्धनको निर्णयविपरीत नेकपा (एमाले)को समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी नेतृत्वलाई कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान कटाक्ष गरेका हुन् ।
पार्टी निर्णय, विधान, पद्धति र परम्पराविरुद्ध नउभिन नेतृत्वले दबाब दिएपछि उनले विधि, विधान र लिकमा चल्नेहरूलाई कपुतको संज्ञा दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने कार्यक्रम शुरू हुनुभन्दा करिब एक घण्टाअघि उनको स्टाटस आएको हो ।
कार्कीले एक सायरी पोस्ट गर्दै गाडी र कपुतहरू लिकमा चल्ने, तर शेर र सपुतले लिक छोड्ने आँट गर्ने लेखेका छन् । ‘लिक लिक गाडी चले, लिकही चले कपुत, लिक छोडी तीनो चले सायर, शेर, सपुत’, उनले संस्थापन पक्षतिर लक्षित गर्दै हिन्दी सायरी साभार गरेका हुन् ।
सभापति शेरबहादुर देउवाले सहमतिका लागि नेताहरूमार्फत दबाब दिएपछि कार्कीले यस्तो अभिव्यक्ति दिएको उनी निकटका नेताहरूले बताएका छन् । कांग्रेसको कार्की पक्ष आज बिहान ८ बजेपछि सनाखतका लागि प्रदेश प्रमुख परशुराम खापुङकहाँ जाने कार्यक्रम छ ।
डा शेखर कोइराला पक्षका कार्कीले पार्टीसँग विद्रोह गरी एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
संस्थापन कांग्रेसले भने नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।