
भारत र पाकिस्तान सीमानाका दृष्टिले निकट छिमेकी हुन् । तर यी देशबीचको राजनीतिक सम्बन्ध टाढाको छ । यी दुईबीच पटक–पटक द्वन्द्व भएको छ । कहिले त युद्ध नै भएको छ । राजनीतिक दुष्मनीको झल्को यी दुई देशबीच हुने क्रिकेटमा पनि देखिने गर्छ ।
सीमासहितका विवादले बढाएको दूरीले सन् २०१३ पछि भारत र पाकिस्तानबीच कुनै सिरिज हुन सकेको छैन । तर, एकदिवसीय र टी ट्वान्टी विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कपमा मात्रै यी प्रतिस्पर्धीबीच भेट हुने गर्छ ।
सिरिज नभएपछि कहिलेकाहीँ प्रतिस्पर्धा हुने भएकोले पनि भीडन्त रोचक हुँदै आएको छ । विश्वभरका क्रिकेटका पारखीले हेर्न नछुटाउने यी दुईबीचको खेल नेपाली समयानुसार आज दिउँसो २ः१५ बजे शुरू हुँदैछ । खेल गुजरातको अहमदाबादमा हुनेछ ।
विश्वकपमा को हाबी ?
एकदिवसीय विश्वकपअन्तर्गत समूह चरणको यो खेल आयोजक भारतका लागि झन् ठूलो प्रतिष्ठाको विषय बन्ने छ । विगतमा खेलिएका एकदिवसीय विश्वकपका ७ खेलमा भारतमाथि पाकिस्तानले जीत हासिल गर्न सकेको छैन । सातै खेल भारतले बाजी मारेको छ । यसथै भारत आज यही निरन्तरता दिन चाहन्छ । दुई महिनाअघि पनि भारत पाकिस्तानमाथि हाबी भएको थियो । श्रीलंकामा भएको एसिया कपको सुपर ४ को खेलमा भारतले पाकिस्तानलाई २२८ रनको भारी अन्तरले हराएको थियो । घरेलु मैदानमा आज भारत सोही नतिजा कायम राख्न चाहन्छ । खेलअघिको पत्रकार सम्मेलनमा पनि कप्तान रोहित शर्माले पाकिस्तानविरुद्ध जीतकै लागि खेल्ने बताए ।
अर्कोतिर पाकिस्तान भने आज इतिहास उल्टाउन चाहन्छ । यसकालाई पाकिस्तानी टोली तयार रहेको कप्तान बाबर आजमले बताएका छन् ।

‘हेड टू हेड’मा को अगाडि ?
एकदिवसीयमा अहिलेसम्म एक आपसमा खेलिएका १३४ खेलमा भने पाकिस्तान अगाडि देखिन्छ । पाकिस्तानले ७३ र भारतले ५६ खेल जितेका छन् ।
पाँचवटा खेल भने बराबरी वा नतिजा नआएको अवस्थामा सकिएको छ ।
कसले पार्लान् प्रभाव ?
फेरि यी दुईबीचको प्रतिस्पर्धामा भारतको सानदार ब्याटिङ र पाकिस्तानको बलियो बलिङ आक्रमण हुने आकलन गरिएको छ । किनकि, भारतका लागि विराट कोहली, रोहित शर्मा, श्रेयश ऐयर, ईशान किशन र हार्दिक पाण्ड्या ब्याटिङका लागि माहिर मानिन्छन् । बलिङमा तीव्र गतिका जसप्रित बुमराह र मोहम्मद शामीले प्रभाव पार्न सक्नेछन् । कुलदीप यादव र रवीन्द्र जडेजाको स्पीनमा पाकिस्तानको ब्याटिङ लाइनअप धर्मराउन पनि सक्नेछ ।
तर, पाकिस्तानका बाबर आजम र विकेटकिपर ब्याटम्यान मोहम्मद रिजवान ब्याटिङका खम्बा हुन् । यी दुईलाई समयमै आउट गर्न सके खेलमा भारत हाबी हुन सक्नेछ । त्यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमद, फाखर जमान र इमान उल हक पनि खतरनाक ब्याटसम्यान हुन् ।
तर, १५० किलोमिटर प्रतिघण्टाको दरले बलिङ गर्ने हरिफ रौफ, साहिन शा अफ्रिदी र निशम शाह भारतको लागि खतननाक बन्न सक्ने देखिन्छ । किनकि, यी तीव्र गतिका बलरविरुद्ध खेल्न दिग्गज ब्याटसम्यानलाई पनि सहज हुनेछैन । पाकिस्तानका लागि साधव खानले स्पीनमा प्रभाव पार्न सक्छन्