२० असार २०८३, शनिबार

दशैँ शुरू भएसँगै नयाँ बसपार्कमा घर फर्किने यात्रुको भीड

असोज २८, २०८०
काठमाडौं
दशैँ शुरू भएसँगै नयाँ बसपार्कमा घर फर्किने यात्रुको भीड
फाइल तस्वीर ।

नेपालीको महान् पर्व बडादशैँ सुरु भएसँगै गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दशैँ लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिवारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो ।

नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ,’ उनले भने ।

दशैँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । उनले दशैँको समयमा सहजरुपमा यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको उल्लेख गरे ।

सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्