
सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यका का १५ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छन् ।
महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै यात्रु सहायता कक्षको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँबसपार्क, स्वयम्भू, चावहिल, तिलगङ्गा, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष शुरू गरिएको हो ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने अनुमान छ । त्यसैले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरू र अन्योल नपरोस् भनी यो सेवा दिइएको कम्पनीले जनाएको छ ।
उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो यात्रुको गुनासो महंगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको छ ।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षासम्बन्धी सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ ।