
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोशी प्रदेश सरकारमा भएको एमालेको सहभागिता करेक्सन हुने बताएका छन् ।
कांग्रेसको असन्तुष्ट गुट र एमालेको गठबन्धन बन्नु लाजमर्दो विषय भएको उनले टिप्पणी गरे ।
समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभालाई सोमवार कैलालीको धनगढीमा सम्बाेधन गर्दै प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै जित हुने दाबी गरेका हुन् ।
‘कोशीमा दुई वटा गठबन्धन बने, एउटा हाम्रो । अर्काे एमाले र कांग्रेसको असन्तुष्टको । त्यसपछि धेरै मेहनत गरेर यो गठबन्धनको बारेमा दृढ छाैं भनेर कमिटमेन्टसहित हस्ताक्षर गर्यौं’ प्रचण्डले भने, ‘एमालेले गरेको चलखेल त्यही रोकियो भनेको त, फेरि भयो । एमाले मन्त्री छिराइ हालेछन्, त्यो करेक्सन हुन्छ । जित्नलाई यही गठबन्धनले जित्छ ।’
प्रचण्डले ठूला पार्टीभित्रको डायानामिक्स अचम्मको रहेको बताए । ‘ठूला पार्टी भित्र अचम्मको डाइनामिक्स छ, एमाले भित्र पहिलो चोटी ठूलठूला चिरा परेको, त्यसलाई सदुपयोग गर्न सकिन्छ । कांग्रेसपार्टी हो कि पाटी हो कि मञ्च हो बुझ्नै गाह्रो छ’ प्रचण्डले भने ।