२२ जेठ २०८३, शुक्रबार

इजरायल–हमास तनाबबीच चीनमा बीआरआई सम्मेलनः १३० देशका प्रतिनिधि सहभागी, युद्धको छायाँमा पर्ने डर !

असोज ३०, २०८०
काठमाडौं
इजरायल–हमास तनाबबीच चीनमा बीआरआई सम्मेलनः १३० देशका प्रतिनिधि सहभागी, युद्धको छायाँमा पर्ने डर !

बेइजिङ– चीनले १३० देशका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको आयोजनाको तयारी गरेको छ । उक्त सम्मेलन आजदेखि बेइजिङमा शुरू हुँदैछ । जसलाई इजरायल–गाजा युद्धले ओझेलमा पार्ने डर उत्तिकै रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि छन् । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ । 

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा भएका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । 

चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकू सङ्गठन हमाससँगको इजरायलको युद्धले निरन्तर महत्व पाएको छ । 

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजरायलमा भीषण रकेट हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजराइलमा एक  हजार चार सयभन्दा बढी मारिएका छन् ।

हमास शासित हमास गाजा पट्टीमा इजरायली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजराइली हमलामा कम्तीमा दुई हजार ६७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारबाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताएका छन् । 

‘इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ,’ उनले आइतवार भनेका थिए । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

आफ्नो विज्ञप्तिमा इजराइल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् । 

विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गरेका थिए । 

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकू समूह हो जसले इजरायलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ । 

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्ने चीनको सरकारी प्रसारक संस्था सीसीटीभीले आइतवार बताएको थियो । यद्यपि सीसीटीभीले मध्यपूर्वको कुल मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

रणनीतिक निर्भरता 

आजदेखि शुरू हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद छन् ।  

सोमवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ आएका थिए । र, उनले केही घण्टामै चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गरेका छन् । सम्मेलनमा रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ । छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।  

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध शुरू भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गरेको छ ।   

आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ ।

बीआरआई सम्मेलनमा भाग लिन नेपालबाट पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत प्रतिनिधि चीन गएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्