
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
चीनको भ्रमणमा रहेका मन्त्री श्रेष्ठले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए ।
“नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ”, उनले भने, “यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।”
दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्ने उनको भनाइ थियो ।
उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे ।
स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रुपले सफल भएको उनले बताए ।
सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको उनको भनाइ थियो ।