
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको नेपालकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँको मेन्टेन एफसीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा यही असोज २७ देखि सञ्चालन भएको दोस्रो संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान एक÷एक गोल गरे ।
उपाधि जितेको मेन्टेन एफसीले नगद रु पाँच लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको ढुकु फुटसल हबले नगद रु तीन लाखसहित शिल्ड, मेडलसहित प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी पाए । उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डङ्गोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुँदै जनही नगद रु २५ हजार र ट्रफी पुरस्कार पाए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्ट, संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
‘परिवर्तनका लागि खेलकुद’ नारासहित ‘राजन एण्ड द ब्रदर्श’ले आयोजना गरेको प्रतियोगितामा देशभरबाट कूल १४ वटा टिमको सहभागिता रहेको थियो । गत वर्षको पहिलो संस्करणको आयोजनाबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेकाले यस वर्ष पनि निरन्तरता दिइएको संस्थापक गुरुङले बताए ।
गत वर्षको पहिलो संस्करणको प्रतियोगिता खेलेका चार खेलाडीले हाल नेपाली राष्ट्रिय फुटसलको टोलीमा स्थान बनाएका छन् ।