
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ट्वीनेटर विमान खरिद प्रक्रिया नरोकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री किराँतीले विकट क्षेत्रका नागरिकलाई सेवा दिने ट्वीनेटर विमान खरिद प्रक्रिया नरोकिने बताएका हुन् ।
ताप्लेजुङ, जुम्ला, कालिकोटलगायतका विकट पहाडी र हिमाली क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले भोगिरहेको समस्या समाधानका लागि जहाज अभाव भएकोले खरिद प्रक्रिया नरोकिने उनको भनाइ छ ।
‘विकट गाउँका महिला सुत्केरी हुन नसक्दा सबैले हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । त्यही कारण मृत्युवरण गर्नुपर्ने परिस्थिति रहेका छ । त्यसैले पनि नेपाल वायु सेवा निगमलाई जहाजको आवश्यकता रहेको छ।’ उनले भने ।
जहाज खरिदका लागि आर्थिक स्रोतको कुनै समस्या नभएको उनले बताएका छन् ।
मन्त्री किरातीले विराटनगर विमानस्थलभित्र सञ्चालित क्यान्टिनहरूको अनुगमन गरेका छन् । अनुगमनका क्रममा पानी लगायतका पेय पदार्थ तथा जंङ्क फूडहरूमा उल्लेख गरिएको अधिकतम बिक्री मूल्यभन्दा तीन गुणा बढीसम्म लिएर बिक्री गर्ने गरेको पाइएको उनले बताए ।
मन्त्री किराँतीले आजैबाट एमआरपीभन्दा बढी मूल्य लिएर बिक्री गर्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
अबदेखि उपभोक्तासँग बढी मूल्य लिएको पाइएमा कुनै मौका नदिई कारवाही गर्ने उनको चेतावनी छ ।