
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इन्टरनेट बजारमा आफ्नो उपस्थिति जबरजस्त ढंगले बढाउन थालेको छ ।
पछिल्लो समय ‘एनटी फाइबर’मार्फत टेलिकमले इन्टरनेट बजारमा उपस्थिति बलियो बनाउँदै लगेको हो । पहिले सरकारी सेवा भनेका बेला उपलब्ध हुँदैन भनेर सेवाग्राही हिच्किचाउने गरेकोमा अहिले त्यो छवि विस्तारै बदलिएको छ ।
‘सेभेन टु सेभेन’ (हप्तामा सातै दिन) मर्मतसहितका सेवा उपलब्ध गराउन थालेपछि टेलिकमको फाइबर नेट निजी क्षेत्रका सेवा प्रदायकहरूसँग बलियो प्रतिस्पर्धा गर्न सफल भएको हो ।
खासै ठूलो प्रचार नगरे पनि फाइबर प्रयोगकर्ता निरन्तर बढ्दै गएको तथ्यांकबाट प्रस्ट हुन्छ ।
‘वर्ड अफ माउथ’का आधारमा सेवाग्राही बढ्दै गएका हुन् । प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिएको वा ‘रिफर’ गरेको आधारमा प्रयोगकर्ता बढ्दै गएको नेपाल टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले लोकान्तरसँग बताए ।
‘सिग्नल र ब्यान्डविथ राम्रो छ । व्यक्ति र संस्थालाई चाहिने तीनै खालका सेवा (इन्टरनेट, टीभी र फोन) एक साथ उपलब्ध छन्,’ भट्टराईले लोकान्तरसँग भने, ‘सेवामा समस्या पनि छैन, सोहीकारण हुनसक्छ, ‘वर्ड अफ माउथ’ले निकै काम गरेको छ ।’
भट्टराईका अनुसार भदौ मसान्तसम्ममा एनटी फाइबर सर्भिसअन्तर्गत इन्टरनेट प्रयोगकर्ता २ लाख ६० हजार पुगेका छन् । पुरानै केबल नेट चलाइरहेकाहरू समेत जोड्दा यो संख्या ३ लाखभन्दा माथि छ ।
हेर्नुहोस्, फिक्स्ड ब्रोडब्यान्डतर्फ बजार हिस्सा प्रतिशतमा:

फाइबरमै ‘भ्वाइस’तर्फ करीब ३ लाख २५ हजार प्रयोगकर्ता रहेको भट्टराईले बताए । फाइबरमा ‘फल्ट रेट’ निकै कम रहेको उनको भनाइ छ ।
‘कपर केबल हुँदा चोरीको समस्या थियो । हावाहुरी र पानीमा सिग्नल लस हुने गर्थ्यो,’ भट्टराईले थपे, ‘फाइबरमा त्यस खालका समस्या छैनन् । त्यसमाथि हामीले ‘सेभेन टु सेभेन’ सर्भिस उपलब्ध गराएका छौं ।’
फिडर लेभलको समस्या समाधानका लागि २४/७ नै काम हुने र ग्राहक तहको समस्या समाधानका लागि पनि हप्तामा सातैदिन सेवा दिने गरिएको उनको भनाइ छ ।
फिल्डमा आउने समस्या समाधानका लागि सेवा करारमा लिइएको उनले बताए । खास–खास कामका लागि करार सम्झौता गरेका निजी कम्पनीले एनटी फाइबरमा आउने 'फिल्ड'का समस्या समाधानका लागि तुरुन्तै काम गर्नुपर्ने जिम्मेवारी पाएका छन् ।
‘अहिले सरकारी बिदा वा शनिवार भन्ने छैन, करारमा सम्झौता गरेको कम्पनीका प्राविधिकहरू सातैदिन फिल्डमा हुन्छन्,’ नेपाल टेलिकमकै अर्का एक अधिकारीले भने ।
‘थ्री डिजिट’ (१०० एमबीपीएस)भन्दा माथिको इन्टरनेट चाहिन्छ भन्ने खालको ‘कन्जुमर’ साइकोलोजी देखिएको भन्दै ती अधिकारीले एनटी फाइबरको १० एमबीपीएसको नेट पनि निकै राम्रो रहेको दाबी गरे ।
‘म आफैंले घरमा १० एमबीपीएसको एनटी फाइबर नेट जोडेको छु । घरका सदस्यले मात्र हैन पाहुनाहरू आउँदा (धेरै प्रयोगकर्ता भएका बेला) पनि कुनै समस्या छैन,’ ती अधिकारीले भने, ‘तर, कन्जुमरमा थ्री डिजिटको इन्टरनेट चाहिन्छ भन्ने अचम्मको साइकोलोजी छ । हाम्रो हकमा गभर्मेन्ट सर्भिस भएकाले जति भन्यो त्यति उपलब्ध हुन्छ । सबै कुरा पारदर्शी छ ।'
ती अधिकारीले एक ग्राहकको उदाहरण समेत दिए । ‘मैले चिनेका एक ग्राहक हुनुहुन्छ । उहाँले २५० एमबीपीएसको इन्टरनेट चलाउँदै आउनुभएको थियो । अहिले एनटी फाइबरको २५ एमबीपीएसको (नेट र फोनसहित) इन्टरनेटमा शिफ्ट हुनुभएको छ । पहिले प्रयोग गर्दै आएको इन्टरनेटभन्दा कुनै पनि हिसाबले कम छैन, बरु बढी छ भन्ने उहाँको प्रतिक्रिया छ,’ ती अधिकारीले भने ।
फाइबरमा नयाँ अफर
नेपाल टेलिकमले एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रमोसन अफर उपलब्ध गराएको छ । सेवाग्राहीले अत्यधिक रुचि देखाएको एनटी फाइबरलाई थप आकर्षक बनाउन टेलिकमले स्पीड २५० प्रतिशतसम्म पुग्नेगरी ब्यान्डविथ बढाएको हो ।
अफरअन्तर्गत हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० देखि ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने नेपाल टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले भने ।
‘दशैंतिहार लगायत चाडबाडको अवसर पारेर अफर ल्याएका छौं । २५० प्रतिशतसम्म पुग्नेगरी ब्यान्डविथमा बढोत्तरी गरिएको छ । अहिले सेवा खरिद गर्ने ग्राहकले पुरानै मूल्यमा बढी गतिको इन्टरनेट प्रयोग गर्न पाउनुहुन्छ,’ भट्टराईले भने ।
४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा १०० एमबीपीएस र ८० एमबीपीएसको सेवा लिइरहेका ग्राहकले १५० एमबीपीएस गतिको सेवा प्राप्त गर्ने पनि भट्टराईले जानकारी दिए ।
यसका साथै हाल उपलब्ध हुँदै आएको ‘फेयर युजेज पोलिसी लिमिट’मा समेत बढोत्तरी गरिएको उनले जानकारी दिए ।
फाइबर नेट जडान तथा कम्प्लेनका लागि १९८ नम्बर डायल गरेर सेवा लिन सकिने टेलिकमले जनाएको छ ।
कति पर्छ शुल्क ?
व्यक्तिगत ग्राहकका लागि टेलिकमले दुई खालका प्याकेज उपलब्ध गराएको छ । एक खालको प्याकेजमा इन्टरनेट, एनटीटीभी र टेलिफोन लाइन उपलब्ध हुन्छ भने अर्काे प्याकेज इन्टरनेट र फोनको मात्र छ ।
थोरै प्रयोगकर्ता रहेको सानो परिवारका लागि वर्षको ८ हजार रुपैयाँमा १० एमबीपीएस क्षमताको इन्टरनेट उपलब्ध हुन्छ । ल्यान्डलाइन टेलिफोन प्रयोग गरिरहेका पुराना प्रयोगकर्ताले यो सेवा ६ हजार रुपैयाँमा नै पाउने टेलिकमले जनाएको छ ।
जडान खर्चसहित १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, एनटीटीभी र एउटा टेलिफोन उपलब्ध हुने टेलिकमले जनाएको हो । फोनमा टेलिकमको नेटवर्कभित्र वर्षको ३ हजार मिनेट ‘फ्री टक टाइम’ र १०० रुपैयाँ इनिसियल ब्यालेन्स उपलब्ध हुने टेलिकमले जनाएको छ ।
हेर्नुहोस्, एनटी फाइबर प्याकेज र शुल्क :
वेबसाइटमै गएर हेर्न यहाँ क्लिकगर्नुहोस् ।