०२ साउन २०८३, शनिबार

ऋण घटाउँदै वायु सेवा निगम : चुक्ता गर्‍यो असोज महिनाको किस्ता

कात्तिक १, २०८०
काठमाडौं
ऋण घटाउँदै वायु सेवा निगम : चुक्ता गर्‍यो असोज महिनाको किस्ता

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका न्यारोबडी र वाइडबडी विमानको असोज महिनाको किस्ता तिरेको छ । 

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको असोजको किस्ता तिरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले बुधवार एक विज्ञप्ति प्रकाशित गरी असोज ३० गते असोज मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता तिरिएको जानकारी दिए ।

युवराज अधिकारीले निगमको नेतृत्व सम्हालेपछि निगमले व्यापार विस्तार र आम्दानीमा सुधार गर्दै ऋण तिर्दै आएको छ । 

२०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम तिरिसकेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि नगद प्रवाहमा सुधार आई प्रमुख इञ्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरिएको निगमले जनाएको छ । 

निगमले दुर्गम क्षेत्रमा उडानका लागि ३ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

‘तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना अन्तिम चरणमा पुगेको छ,’ प्रवक्ता पौडेलले विज्ञप्तिमार्फत भनेका छन् । 

नयाँ जहाज आएपछि दुर्गम क्षेत्रमा धेरै यात्रुलाई सुविधा दिन सकिने र भाडा दरमा सन्तुलन कायम हुने निगमको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्