०६ साउन २०८३, बुधबार
एमालेको मधेश 'पोलिटिक्स'

मधेशमा महासेठविरुद्ध ध्रुवीकरण  !

कात्तिक १, २०८०
काठमाडौं
मधेशमा महासेठविरुद्ध ध्रुवीकरण  !

नेकपा एमालेको केन्द्रीय राजनीतिमा मधेशबाट बलियो उपस्थिति बनाउँदै गएका रघुवीर महासेठविरुद्ध प्रदेशमा भने पार्टीकै नेताहरूले ध्रुवीकरण बढाएका छन् ।

केन्द्रीय सचिव समेत रहेका महासेठविरुद्ध पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य सरोज यादवसहितको समूहले माथ दिएको हो ।

प्याकुरेल मधेश प्रदेशका पूर्वसचिव हुनुका साथै राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमालेबाट राष्ट्रिय सभा संसदीय दलका नेता समेत बनिसकेका छन् । यादव भने अहिले मधेश प्रदेश सभामा एमाले संसदीय दलका नेता हुन् । 

मधेश प्रदेश कमिटीको अधिवेशनमा महासेठ खेमाबाट न्यून प्रतिनिधित्व हुनुले पनि त्यस कुराको पुष्टि हुन्छ । कतिसम्म भने महासेठले मधेश प्रदेशको अध्यक्षमा पेश गर्नका लागि आफ्ना विश्वासिला पात्र समेत पाउन सकेनन् ।

एमालेका एक केन्द्रीय सदस्य त प्रदेश कमिटीको नेतृत्वका लागि महासेठले उम्मेदवार समेत नपाएको दाबी गर्छन् ।

'अन्तिममा महासेठजीले राजनारायण साहलाई अध्यक्षको उम्मेदवारका रूपमा सार्नुभएको थियो । तर, हामीले राजनारायणजीलाई सर्वसम्मत अध्यक्ष मान्न सक्दैनौं भनेर भनेका थियौं,' ती सदस्यले लोकान्तरसँग भने, 'अन्त्यमा हाम्रै खेमाका चन्देश्वर मण्डललाई सर्वसम्मत अध्यक्ष बनाउन सक्यौं ।'

२ सय ३५ सदस्यीय प्रदेश कमिटीमा १ सय ६० जना आफूहरूको खेमाको रहेको तथा ७५ जना महासेठ खेमाको रहेको एमाले केन्द्रीय सदस्य सरोज यादवको दाबी छ ।

'दुईतिहाइ भन्दा बढी प्रतिनिधिहरू हाम्रा थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिनुभएको हुनाले हामी चुनावमा गएनौं,' ती नेताले लोकान्तरसँग भने, 'यदि चुनाव भएको भए हामीले २३५ मै क्लीन स्वीप गर्थ्यौं । सर्वसम्मतिको नाममा महासेठजीले ७५ जना पाउनुभयो ।'

मधेश प्रदेशका आठ पोलिटब्यूरो सदस्यमध्ये महोत्तरी इन्चार्ज जुली महतो (महासेठकी श्रीमती) र रौतहट इन्चार्ज पुरुषोत्तम पौडेल मात्र महासेठ खेमामा खुलेका थिए ।

त्यसबाहेक सिरहा इन्चार्ज प्याकुरेलसँग धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, सप्तरी इन्चार्ज मञ्जु चौधरी, सर्लाही इन्चार्ज ज्वाला साह, पर्सा इन्चार्ज अच्युत मैनालीसहित पाँचजना पोलिटब्युरो सदस्य एकजुट भएका थिए ।

त्यसैगरी मधेश प्रदेशका ३२ जना केन्द्रीय सदस्यमध्ये राजकुमार गुप्ता, प्रतीक्षा तिवारी, बुधनी देवी, उद्धव रेग्मीसहित ५/७ जना केन्द्रीय सदस्य मात्र खुलेका थिए ।

त्य बाहेक सरोज यादव, मोहम्मद समीर, उमाशंकर अरगरिया, सञ्जीव झा सुरज, बलवीर चौधरी, निर्मला देवकोटा, गंगा यादव, शीला यादव, हरिनारायण महतो, सविता यादव, कमला महतो, कल्पना कटुवाल, रञ्जना सरकार, अजय गुप्तासहित २५ जना जति प्याकुरेल-यादव खेमामा रहेको नेताहरू बताउँछन् ।

प्याकुरेल-यादव खेमाका अर्का एक केन्द्रीय सदस्य भने महासेठको अवसरवाद, आत्मकेन्द्रित र निषेधको राजनीतिका कारण महासेठविरुद्ध नेता तथा कार्यकर्ताहरूको ध्रुवीकरण भएको बताउँछन् । ध्रुवीकरण हुनुपछाडि ३ दृष्टान्त उनले प्रस्तुत गरे ।

नेकपा विभाजन हुँदाको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्नुपर्छ भन्ने प्रस्तावमा महासेठले पनि हस्ताक्षर गरेका थिए ।

'पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपाल खेमाको स्थायी कमिटी बैठकमा उपस्थित भएर ओलीलाई कारवाही गर्ने प्रस्तावमा महासेठजीले हस्ताक्षर नै गर्नुभयो,' ती नेताले लोकान्तरसँग भने, 'पछि श्रीमती जुली महतोलाई मन्त्री बनाउने शर्तमा बार्गेनिङ गरेर मात्र एमालेमै फर्किनुभयो । अवसरवादको त्यो ज्वलन्त उदाहरण हो ।'

२०७९ सालमा स्थानीय तह निर्वाचन हुँदा महासेठ प्रदेश इन्चार्ज थिए । टिकट वितरणमा महासेठले स्वेच्छाचारिता प्रदर्शन गरेको उनको दाबी छ ।

प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी

'वर्षौंदेखि कम्युनिस्ट आन्दोलनमा लागेका सक्रिय कार्यकर्तालाई टिकट नदिएर गैर-राजनीतिक, गैर-कम्युनिस्ट तथा व्यापारी पृष्ठभूमिबाट आएकालाई टिकट दिनुभयो । पैसा लिएर व्यापारी तथा ठेकेदारहरूलाई छानीछानी टिकट दिएको आरोप लाग्दै आएको छ,' उनले थपे, 'त्यसैगरी २०७९ सालकै प्रतिनिधि सभा तथा प्रदेश सभामा आफू अनुकूल हुने गरी टिकट वितरण गर्नुभयो । जसपासँग तालमेलको नाममा एमालेले जित्न सक्ने ठाउँमा पनि नेतालाई निषेध गर्ने बदनियतले जसपालाई टिकट दिलाउनुभयो ।'

पार्टीको मापदण्डविपरीत अहिले पनि महासेठले केही व्यापारीलाई प्रदेश कमिटीमा ल्याएको उनको आरोप छ । ७ वर्षसम्म निरन्तर संगठित सदस्य भएको हुनुपर्ने, जिल्ला कमिटीमा एक कार्यकाल काम गरेको हुनुपर्ने वा जनवर्गीय संगठनको केन्द्रीय सदस्य भएको हुनुपर्ने प्रावधानविपरीत पार्टीमा व्यापारिक पृष्ठभूमिबाट आएकालाई प्रदेश कमिटीमा मनोनीत गर्ने गरेको ती नेताको आरोप छ ।

त्यसैगरी धनुषाका एक केन्द्रीय सदस्य भने केपी ओलीबाट लाभ लिँदै आएका महासेठले जहिल्यै ओलीलाई धोका दिँदै आएको आरोप लगाउँछन् । 'जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनमा महासेठ ओली गुटबाटै प्रतिनिधि बनेका थिए, तर उनी पछि माधवकुमार नेपालको गुटमा लाग्दा ओली सहितका नेताले जनकपुरको होटलमा कोठा समेत पाउन सकेका थिएनन्,' ती नेताले लोकान्तरसँग भने, 'त्यति मात्र होइन, एमालेमा संसदीय दलको नेतामा ओली र झलनाथ खनाल भिड्दा महासेठले ओलीलाई धोका दिएर खनाललाई साथ दिएका थिए ।'

महासेठविरुद्ध ध्रुवीकरणको नेतृत्व गरेका प्याकुरेल भने कुनै एक नेता वा व्यक्ति विशेषविरुद्ध ध्रुवीकरण नगरेको बताउँछन् ।

'म पोलिटब्युरो सदस्य हो । महासेठजी विशाल पार्टी नेकपा एमालेको केन्द्रीय सचिव हो । उहाँ हाम्रो नेता हो,' प्याकुरेलले लोकान्तरसँग भने, 'तर, जीवन्त पार्टीमा नीति, कार्यक्रमलाई लिएर अन्तरविरोध त भइहाल्छ नि, त्यसलाई ध्रुवीकरण भन्न मिल्दैन ।'

विगतमा जस्तो अब मधेशमा कुनै एक व्यक्ति वा नेतालाई पूजा गर्ने काम भने नहुने उनको भनाइ छ ।

'पछिल्लो प्रदेश अधिवेशनमा नेतृत्व सर्वसम्मत चयन हुनु भनेको पार्टीको जीत हो । कुनै एक व्यक्तिको इशारामा अब मधेश चल्दैन भन्ने कुराको सन्देश दिएकै हो,' प्याकुरेलले थपे, 'पार्टी एमालेको केन्द्रीय कमिटीको निर्णयमा चल्ने हो । व्यक्ति पूजा अब हुनेवाला छैन ।'

प्याकुरेलले त्यसो भने पनि महासेठकै कारण एमालेले मधेश प्रदेशमा प्रदेशसभाका २४ सीट र प्रतिनिधिसभाका १० सीटमा जीत हात पारेको महासेठनिकट नेताको दाबी छ ।

प्रदेश अधिवेशनको बन्द सत्रमा तत्कालीन अध्यक्ष रामअवतार यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठकै नेतृत्वमा परिचालित भएको पार्टी संगठनले उक्त सफलता हात पारेको उल्लेख छ ।  

त्यो प्रतिवेदनमा महासेठलाई जस दिएको भए पनि त्यसलाई आउने नयाँ समितिले सच्याउने गरी परिवर्तन गर्ने कुरा भएको प्याकुरेल बताउँछन् ।

'हो, त्यतिबेला महासेठजी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । उहाँको पनि योगदान होला, तर समग्रमा पार्टीको योगदान हो । कार्यकर्ताको योगदान हो  । प्रदेश कमिटीको योगदान हो । त्यसको जस एक्लै महासेठजीलाई दिइएकोमा बन्द सत्रमै असहमति व्यक्त गरिएको थियो,' प्याकुरेलले थपे, 'प्रतिवेदनमा उल्लेख गरिएको उक्त कुरालाई नयाँ प्रदेश कमिटीले सच्याउने कुरा भएको हो ।'

पार्टीभित्र महासेठको बढ्दो प्रभावका कारण असुरक्षित महसूस गरी नेताहरू ध्रुवीकृत भएको महासेठनिकट एक नेताले बताए ।

'उहाँविरुद्ध मधेशका नेताहरूले एकसाथ ध्रुवीकरण गर्नु स्वाभाविक नै हो,' ती नेताले लोकान्तरसँग भने, 'अहिले रघुवीरजी आफैं सचिव हुनुहुन्छ । भोलि उपाध्यक्ष हुनुहोला । उहाँको श्रीमती जुलीजी अहिले पोलिटब्युरो सदस्य हुनुहुन्छ । आगामी महाधिवेशनमा सचिव बन्ने पक्कापक्की छ ।'

पार्टीमा महासेठलाई कमजोर गर्न सके मात्र आफ्नो प्रमोसन हुनसक्ने वा लाभको अवसर प्राप्त हुनसक्ने भन्ने बुझेकाहरू एकठाउँमा ध्रुवीकृत भएको उनले खुलाए । जनताका बीचमा प्रभाव नहुनेहरूले मात्र महासेठको विरोध गरेको उनको कथन छ ।  

एमाले सचिव महासेठ स्वयंले पनि पार्टीभित्र आफ्नो जनाधार कायमै रहेको दाबी गरे ।

'मविरुद्ध मोर्चाबन्दी कस्नेहरू निकै अल्पमतमा छन् । म केन्द्रीय नेता हो । मैले सबैलाई मिलाएर लानुपर्छ, 'महासेठले लोकान्तरसँग भने, 'प्रदेश अध्यक्षमा सर्वसम्मत चयन भएका चन्देश्वर मण्डल पनि मेरै निकटको मान्छे हो । महासेठ कमजोर भयो भनेर फैलाइएको हल्लामा कुनै सत्यता छैन ।'

आफू केन्द्रीय नेता भएकाले ध्रुवीकरणका विषयमा केही बोल्न उपयुक्त नहुने उनको कथन छ ।

'मविरुद्ध केही नेताहरूले मोर्चाबन्दी गरे पनि वा ध्रुवीकरण गरे पनि त्यसको केही असर परेको छैन । जतिसुकै मोर्चाबन्दी गरे पनि मधेशमा सफल हुनेवाला छैन,' उनले थपे, 'तैपनि उहाँहरू पार्टीकै नेता तथा कार्यकर्ता हो । अधिवेशनबाट एमालेको पक्षमा राम्रै निर्णय भएको हो ।'

पार्टीलाई बलियो बनाउनमा आफू लागेको उनले बताए । मोर्चाबन्दी गर्नेहरू, ध्रुवीकरण गर्नेहरूलाई पार्टी बलियो बनाउने कुरासँग कुनै मतलब पनि नरहेको उनको कथन छ ।

पार्टी राजनीतिमा अहिले महासेठ कमजोर देखिएको भए पनि संसदीय राजनीतिमा उनलाई त्यति असर परेको छैन । धनुषा- ४ बाट महासेठ र धनुषा-३ बाट श्रीमती जुली महतोले एक साथ चुनाव जितेर आफ्नो प्रभाव देखाउन सफल भएका थिए ।

पछिल्लो ध्रुवीकरणले महासेठमाथि चुनौती भने अवश्य थपिएको छ ।

नेकपाकालीन बैठकमा महासेठले गरेको हस्ताक्षर :

 

salt training

कमेन्ट गर्नुहोस्