
चीनमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड हार्ट अट्याक भएको छ । उनी खतरामुक्त रहेको उनको सचिवालयले जनाएको छ ।
अहिले उनको बेइजिङस्थित युनियन अस्पतालमा उपचार भइरहेको छ ।
‘राति १ बजेको समयमा माइल्ड हार्ट अट्याक भएको हो, लगत्तै अस्पताल भर्ना गरिएको छ । अहिले उहाँको अवस्था खतरामुक्त छ,’ मन्त्री श्रेष्ठको सचिवालयले लोकान्तरसँग भन्यो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका उपप्रधानमन्त्री श्रेष्ठ बुधवार मात्रै आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी भएका थिए ।
सो अवसरमा उनले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए ।