
नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरूले लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्राधिकरणले बिहीवार उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिले उठेका विषयको कानूनी पाटो १५ दिनभित्र टुङ्ग्याउनु पर्नेछ ।
बाहिरको तुलनामा विमानस्थल भित्रका पसलको मूल्य महँगो भएको उपभोक्ताबाट गुनासो आएपछि केही दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अनुगमन गरेका थिए ।
सो क्रममा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न निर्देशन दिएको थियो ।
‘...कानूनी तथा व्यावसायिक पक्षहरूको अध्ययन गरी विस्तृत प्रतिवेदन १५ दिन भित्र महानिर्देशक समक्ष पेस गर्ने कार्यादेशसहितको प्राधिकरणको निर्णयानुसार कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गएिको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस प्राधिकरणको विज्ञप्ति