नेपाली सेनाले फूलपाती बढाइँ २०८० को पूर्वसन्ध्यामा आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गण र श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गणलाई युनिट झण्डा हस्तान्तरण गरेका थिए ।
यसै गरी प्रधानसेनापतिले आर्थिक वर्ष २०७९/८० मा युद्ध मद्दती बाहिनी अड्डा अन्तर्गतका युनिटहरूमा सञ्चालन भएको युद्धकार्य तथा पेसागत निरीक्षणमा उत्कृष्ट भएका ( श्री नं.२ राजदल गण, श्री कालीप्रसाद गण (इन्जिनियर्स), श्री गणेशदल गण, श्री भद्र दल गण, श्री भैरवनाथ गण र श्री नं. १ युद्धकवच गुल्म ) युनिटहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान प्रदान गरेका थिए ।
सोही अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनालाई संस्थागत योगदान दिने चलचित्रकर्मी तथा संगीतकार सन्तोष सेन र एलिस कार्कीलाई प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित गरेका सेनाले जनाएको छ ।
यस अघि जङ्गी अड्डामा आजै सम्पन्न एक कार्यक्रमका बीच प्रधान सेनापतिले महासेनानीबाट सहायक रथीमा बढुवा भएका २ जना र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द एवं सकलदर्जाका साथै परिवारजन र सर्वसाधारणको उपस्थिति थियो ।