
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्रि केसी निर्वाचित भएका छन् । प्रतिस्पर्धीहरू आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजयी केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, उम्मेदवारी फिर्ता लिएकी रविना थापाले ४७ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया), हेमराज शर्मा (बेलायत), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (बेलायत) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।
यस्तै, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन् भने महासचिवममा गौरीराज जोशीले बाजी मारेका छन् ।
उपमहासचिवमा प्रवीन गुरुङ कतारबाट र सोमनाथ सापकोटा बेलायतबाट निर्वाचित भएका छन् ।
एनआरएनएको अधिवेशन बुधवार काठमाडौंमा शुरू भएको थियो ।
यसैबीच नयाँ कार्यकालका लागि भएको निर्वाचनमा केसी अध्यक्षमा निर्वाचित भएसँगै धाँधली भएको आरोप लगाउँदै प्रतिस्पर्धीद्वय श्रेष्ठ र शर्माले मतपरिणाम अस्वीकार गरेको बताइएको छ ।
सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा ल्याएको भन्दै उनीहरूका समर्थकले बिहीवार राति निर्वाचनस्थल होटल सोल्टी परिसरमा चर्को नाराबाजीसमेत गरेका थिए ।