
चीनको हान्झाउमा सञ्चालित चौथो एसियन पारा गेम्स अन्तर्गत ब्याडमिन्टनमा नेपाली खेलाडी प्रकाश अधिकारीले विजयी सुरुवात गरेका छन् ।
हान्झाउस्थित बीजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डी’ मा प्रकाशले इराकका अली अल्सादीलाई २–१ ले पराजित गरे । प्रकाश २१–१९, १९–२१ र २१–१९ ले विजयी भएका हुन् ।
प्रकाश यो प्रतियोगिताको ब्याडमिन्टन एसएल ४ क्याटगोरीको सबैभन्दा कान्छा खेलाडी हुन्
ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जी’ मा इन्डोनेसियाका द्वि कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।

यसैबिच हान्झाउको बिन्जियाङमा शनिवार हुने दोस्रो खेलमा अधिकारीले पाकिस्तानी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । सुर्खेतका प्रकाश नेपालका पहिलो पारा ब्याडमिन्टन खेलाडी हुन् ।
एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ । पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् ।