
एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले ५ खेलमा शतप्रतिशत जीत निकाल्ने क्रममा न्युजिल्यान्डलाई हराएको छ ।
हिमाञ्चल प्रदेशको धर्मशालामा आइतवार राति सकिएको खेलमा घरेलु टोली भारतले न्युजील्यान्डलाई ४ विकेटले हराएको हो ।
न्युजिल्यान्डले दिएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
भारतको जीतमा पूर्वकप्तान विराट कोहली र रवीन्द्र जडेजाको साझेदारी महत्वपूर्ण रह्यो । उनीहरूले छैंटौ विकेटमा लागि ५० रनको साझेदारी गरेपछि भारतको जीत सुनिश्चित बनेको थियो ।
कोहलीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाएका थिए । शतक बन्नबाट थोरैले चुकेका उनले ९५ रन बनाए ।
यस्तै, कप्तान रोहित शर्माले ४६, जडेजाले ३९, श्रेयस अय्यरले ३३, केएल राहुलले २७, ओपनर शुभमन गिलले २६ रन बनाएका थिए । सूर्यकुमार यादवले २ र मोहम्मद सामी १ रनमा अविजित रहँदा भारतले लक्ष्य भेट्टायो ।
न्युजिल्यान्डका लकी फर्गुसनले सर्वाधिक २ विकेट लिए पनि त्यो जीतका लागि पर्याप्त भएन ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पूरै ओभर खेल्दै सबै विकेट गुमाएर २७३ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि डरेल मिचेलले शतकीय पारी खेल्दै सर्वाधिक १३० रन बनाए भने रचिन रविन्द्रले अर्धशतकसहित ७३ रन जोडेका थिए ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक ५ तथा कुलदीप यादवले २ विकेट लिए ।
पाँच खेलमा शतप्रतिशत जीत निकालेसँगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सर्वाधिक १० अंकसहित भारत शीर्ष स्थानमा उक्लिएको छ । पराजित न्युजिल्यान्ड ८ अंकसहित दोस्रो स्थानमा झरेको छ । समान ८ अंक भएको भए पनि यसअघि न्युजिल्यान्ड नेट रनरेटले अगाडि थियो ।
१० मध्ये ४ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । अंक तालिकामा तेस्रोमा दक्षिण अफ्रिका र चौथोमा अष्ट्रेलिया छन् ।
आज पाकिस्तान र अफगानिस्तानको खेल हुँदैछ ।