
त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ । सोमबार काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले हराएको हो ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जीत दिलाउने क्रममा आशिफ शेखले ६२ बनाए । ५० बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै रोहित पौडेलले ४७ र दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४० रन बनाए ।
१६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरेको थियो । तीन ओभर शुरू हुँदै गर्दा नेपालका तीन ब्याटर आउट भएका थिए ।
कुशल भुर्तेल १ रनमै आउट भएका थिए । २ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको थियो ।
यस्तै १.५ ओभरमै सोमपाल कामी २ रन बनाएर आउट भए । त्यो बेला नेपालको जम्मा ५ रन थियो ।
कुशल मल्ल त झन् शून्य रनमै आउट भए । २.१ ओभरमा ११ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको थियो ।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले निर्धारिक २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले यसअघि लगातार तीन खेलमा जीत हात पारेको थियो ।