
अङ्कारा– टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामा समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शुरूमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ ।
अङ्काराले शुरूमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो ।
स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीएले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो ।
टर्कीएको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्कीए अनिच्छुक देखिएको थियो ।
स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीएले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन ।