
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मंगलवार दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणदेखि विशिष्ट र अतिविशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाइदिएका छन् ।
राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिकहाँ टीका लगाउन ठूला दलका शीर्ष नेताहरू भने गएनन् ।
यद्यपि, राष्ट्रपति पौडेलले मंगलवार दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए ।
सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टापछिसम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
यसअघि राष्ट्रध्यक्षको हैसियतमा राजाले टीका लगाइदिने परम्परा थियो । देशमा गणतन्त्र आएपछि करिब १५ वर्षयता राष्ट्रपतिहरूले यसलाई निरन्तरता दिँदै आएका छन् । पौडेलले पनि निरन्तरता दिएका छन् ।
सर्वसाधारण, विशिष्ट र अतिविशिष्टलाई टीका लगाउनअघि राष्ट्रपति पौडेलले भाउजु विष्णुमाया पौडेलबाट टीका लगाएका थिए । उनले छाेरा चिन्तनसँगै परिवार र आफन्तलाई टीका लगाइदिएका थिए ।
यता पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका छन् । उनले आफ्नै निजी निवास निर्मल निवासमा टीका लगाइदिएका हुन् ।
पूर्वराजा शाहले प्रायः हरेक वर्ष वडादशैंको अवसरमा विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउँदै आएका छन् ।